इटहरी । देशैभरि विभिन्न सचेतनामूलक कार्यक्रमहरू आयोजना गरी मनाइँदै गरिएको ‘लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान’ इटहरी उपमहानगरपालिकामा पनि आजदेखि भव्यताका साथ सुरु भएको छ।

उपमहानगरपालिकाको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीच कार्यवाहक नगर प्रमुख सङ्गीता कुमारी चौधरीले ब्यानर वाचन गरी अभियानको समुद्घाटन गर्नुभयो । समुद्घाटन समारोहमा इटहरी उपमहानगरपालिकाका पूर्व उपप्रमुख लक्ष्मी गौतम, प्रमुख प्रशासकीय अधिकृत महेश पराजुली, इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख सुवास हमाल, सामाजिक अभियन्ता, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, टोल विकास संस्था तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुमा हिंसाविरुद्धको ऐक्यबद्धता स्वरूप सहभागीहरूलाई सेतो रिबन वितरण गरिएको थियो।

लगत्तै प्लेकार्ड र सचेतनामूलक नारासहित निकालिएको प्रभातफेरीले उपमहानगरपालिका गेट, वडा नं. ६, हटिया लाइन, गोल्डेन चोक, मुख्य चोक (गोलोचोक) र सेन्टर प्लाजा परिक्रमा गर्दै पुनः नगरपालिकाको प्राङ्गणमा पुगेर कोणसभामा परिणत भएको थियो। कार्यक्रममा कार्यवाहक नगर प्रमुख चौधरी, पूर्व उपप्रमुख लगायत उपस्थित सम्पूर्ण सहभागीहरूले लैङ्गिक हिंसा अन्त्यका लागि तयार पारिएको प्रतिबद्धता ब्यानरमा हस्ताक्षर समेत गरेका छन्। सो अवसरमा बोल्दै कार्यवाहक नगर प्रमुख चौधरीले सभ्य र हिंसामुक्त समाज निर्माणका लागि उपमहानगरपालिका सधैँ प्रतिबद्ध रहेको बताउँदै १६ दिने अभियानको औपचारिक सुरुवात भएको घोषणा गनुृभयो ।

अभियान अन्तर्गत मंसिर २४ गतेसम्म इटहरीका विभिन्न वडाहरूमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने उपमहानगरपालिकाले जनाएको छ। लैङ्गिक हिंसा अन्त्यको सन्देशसहित यो १६ दिने अभियान यतिबेला देशैभरि विभिन्न कार्यक्रमहरूको आयोजना गरी सञ्चालन भइरहेको छ।