इटहरी । तेह्रथुमको लालीगुराँस नगरपालिकाले १५ वटा नयाँ योजना तथा कार्यक्रम थप गरेको छ । नगरपालिकाको १९ औँ नगरसभा अधिवेशनसँग सम्बन्धित विनियोजन ऐन संशोधन मार्फत नयाँ योजना तथा कार्यक्रमका लागि ४० लाख ६७ हजार रुपैयाँ बजेट विनियोजन गरिएको हो ।
संशोधित योजना अन्तर्गत सडक मर्मत तथा सोलिङ, खेलमैदान, खानेपानी, कुलो मर्मत, शिक्षा, पर्यटन र संस्कृति संरक्षणका कार्यक्रम समेटिएका छन् । टासी छ्योलिङ गुम्बा–देउराली प्रहरी चौकी हुँदै बसपार्क जाने सडक मर्मत तथा सोलिङका लागि ४ लाख रुपैयाँ, रातोपाटी भुल्के पुछार टोल सडकका लागि ५ लाख २० हजार, नेवार डाँडा छागे खोला कुलो मर्मतका लागि ३ लाख र रेडक्रस झगडिया सडक मर्मतका लागि १ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी लालीगुराँस ब्याडमिन्टन क्लबलाई खेल सामग्री सहयोग, विद्यार्थी कल्याण कोष, खेलाडी सम्मान, पर्यटन सामग्री खरिद तथा युमा साम्यो महासभा, अनुसन्धान र गोष्ठीका लागि पनि बजेट छुट्याइएको छ ।
यसैगरी गुम्बा भवनको घेराबारा, आइतबारे गौडा डाँडा सडक, आगे कुलो मर्मत तथा व्यवस्थापन र स्मारक मोड सडक सोलिङ लगायतका योजना पनि संशोधित कार्यक्रममा समावेश गरिएका छन् । नगरपालिकाले सडक पूर्वाधारसँगै शिक्षा, खेलकुद, पर्यटन तथा सामाजिक र सांस्कृतिक क्षेत्रलाई समेत प्राथमिकतामा राखेको देखिन्छ । थपिएका योजनाको प्रभावकारी कार्यान्वयन र बजेटको सदुपयोग भएमा स्थानीय नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।


