इटहरी । गत कात्तिक ७ गतेदेखि बेपत्ता रहेकी बालिकाको अवस्था अझै पत्ता नलागेपछि सुनसरीको दुहबीमा स्थानीयवासी र पीडित परिवारले टायर बालेर प्रदर्शन गरेका छन्।
दुहबी नगरपालिका–३ का रमेश यादवकी छोरी नाबालिका अनुष्का यादवलाई दुहबी–९ का २० वर्षीय फयाज हुसेनले भगाएर लगेको भन्दै परिवारले कात्तिक ८ गते नै प्रहरीमा हुलियासहित निवेदन दिएको थियो। तर, लामो समय बित्दासमेत कुनै ठोस प्रगति नभएको भन्दै स्थानीयवासी आक्रोशित बनेका हुन्। बुधबार बिहान करिब पौने ११ बजेतिर पीडित पक्षका ३५–४० जनासहित आक्रोशित स्थानीयहरू इलाका प्रहरी कार्यालय दुहबी अगाडि भेला भए । त्यसपछि उनीहरूले धरान–विराटनगर सडकखण्डका विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरे। प्रदर्शनले व्यस्त सडकखण्डको गाडी आवागमन पूर्णरूपमा ठप्प भयो भने स्थानीय पसलहरू पनि आंशिक रूपमा बन्द भए । आन्दोलन चर्किरहेकै स्थानबाट करिब १० मिटर पूर्वतर्फ दुहबी नगरपालिकाको आयोजनामा महिला हिंसा तथा लैङ्गिक हिंसासम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको थियो।
नगर उपप्रमुख मेनुका पोखरेल खतिवडाको अध्यक्षता तथा कोशी प्रदेशकी सामाजिक विकासमन्त्री गीता तिम्सिनाको प्रमुख आतिथ्यतामा उद्घाटन हुने भनिएको उक्त कार्यक्रम आन्दोलनकै कारण बीचमै रोकिएको छ। एकतर्फ बालिका बेपत्ता हुँदा न्याय नपाएको आक्रोश र अर्कोतर्फ ठीक नजिकै मन्त्रीको उपस्थितिमा महिला हिंसासम्बन्धी कार्यक्रम भइरहेको जानकारी पाएपछि युवाहरू थप आक्रोशित बनेका थिए। आक्रोशित समूह कार्यक्रमस्थलमै पुगेर तोडफोडमा उत्रिने अवस्था सिर्जना भएपछि स्थानीय अगुवा र प्रशासनको समझदारीमा कार्यक्रम स्थगित गरिएको हो।
यता पीडित परिवारले बालिकाको खोजीका लागि सम्बन्धित व्यक्ति र परिवारलाई बोलाएर सहमति खोज्ने प्रयास गरे पनि नतिजा शून्य रहेको भन्दै प्रशासनप्रति कडा असन्तुष्टि जनाएको छ। परिवारले अनुष्कालाई कसैले बन्धक बनाएर राखेको हुन सक्ने गम्भीर आशंकासमेत व्यक्त गरेको छ। यता प्रहरीले भने यसअघि दुवैलाई परिवारको जिम्मा लगाइसकेको र फेरि भागेकाले खोजी तीव्र पारिएको जनाएको छ। लामो समय बित्दासमेत स्थिति सार्वजनिक नहुँदा स्थानीय र परिवारले अनुष्काको अवस्था तत्काल बाहिर ल्याउन प्रशासन माथि कडा दबाब दिएका छन्।


