इटहरी । मोरङमा १४ वर्षीया नाबालिका श्रीमतीमाथि अमानवीय कुटपिट गरी सोको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा २३ वर्षीय श्रीमान् पक्राउ परेका छन् ।
पीडित नाबालिकामाथि आफ्नै ५५ वर्षीय ससुराले बलात्कार गरेको आरोपमा प्रहरी अनुसन्धान भइरहेकै बेला श्रीमान्ले उल्टै श्रीमतीमाथि कुटपिट गरेका थिए। कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि इलाका प्रहरी कार्यालय पथरीको टोलीले बुधबार २३ वर्षीय ती युवकलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ परेका युवकमाथि विद्युतीय अपराध ९साइबर अपराध० र बालविवाह सम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
के हो घटना रु
प्रहरीका अनुसार मोरङस्थित घरमा गत कात्तिक २९ गते रातिको समयमा ५५ वर्षीय ससुराले १४ वर्षीया नाबालिका बुहारीलाई बलात्कार गरेको उजुरी परेको थियो । घटनाको सूचना पाएलगत्तै प्रहरीले बलात्कार आरोपी ससुरालाई नियन्त्रणमा लिई मङ्सिर १ गते अदालतबाट म्याद थप गरेर हिरासतमा राखी अनुसन्धान गरिरहेको थियो । ससुरामाथिको बलात्कार कसुर अनुसन्धानकै क्रममा रहेका बेला, २३ वर्षीय श्रीमान्ले आफ्नी आमा ९नाबालिकाकी सासु० लाई समेत छेउमा राखेर श्रीमतीमाथि निर्मम कुटपिट गरेका थिए । पीडित बालिका सुत्केरी समेत हुन् । भिडियोमा श्रीमान्ले काखमा रहेको शिशु आफ्नो नभएको आरोप लगाउँदै बेल्ट लगायतका वस्तुले कुटपिट गरी शारीरिक तथा मानसिक यातना दिएको देखिन्छ। उनले सो घटनाको भिडियो आफैँ खिचेर सामाजिक सञ्जालमा अपलोड गरेका थिए।
यो घटना सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा न्याय र सहानुभूतिको नाममा पीडित बालिकाको पहिचान खुल्ने गरी भिडियो, तस्बिर र स्क्रिनसटहरू तीव्र रूपमा भाइरल भइरहेका छन्। यसले पीडित नाबालिका र उनको शिशुमाथि थप मानसिक आघात पुगेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले पीडितको पहिचान जोगाउन विशेष संवेदनशीलता अपनाउँदै दुवै अभियुक्तको नाम तथा व्यक्तिगत विवरण गोप्य राखेको जनाएको छ । यता, नेपाल प्रहरी साइबर ब्युरोले पनि पीडितको पहिचान खुल्ने गरी सामग्री सेयर नगर्न सचेत गराएको छ।


