इटहरी । तेह्रथुमको लालीगुराँस नगरपालिका–२, वसन्तपुरस्थित चोत्लुङ पार्कमा ज्येष्ठ नागरिक सम्मान, अन्तरक्रिया तथा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । 

नगरपालिकाका नौवटै वडाबाट ७५ देखि ९६ वर्षसम्मका २०० भन्दा बढी ज्येष्ठ नागरिक सहभागी कार्यक्रममा लामो समयपछि एकअर्कासँग भेटघाट, चिनजान र आत्मीयता साट्ने अवसर जुटेको थियो । जीवनको लामो यात्रामा भोगेका सुखदुःख, संघर्ष र अनुभवहरू एकअर्कासँग सुनाउने तथा नयाँ पुस्ताका लागि आफ्ना जीवन भोगाइ साझा गर्ने अवसर समेत कार्यक्रममा मिलेको थियो । कार्यक्रममा ज्येष्ठ नागरिकहरूलाई खादा तथा मखमल ओढाएर सम्मान गर्नुका साथै खानपानको व्यवस्था गरिएको थियो ।

ज्येष्ठ नागरिकको योगदान, अनुभव र जीवन भोगाइको कदर गर्दै उनीहरूबीच आपसी भेटघाट, चिनजान र आत्मीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा नगर प्रमुख अर्जुन माबोहाङ, नगर उपप्रमुख जमुना मगर कार्की, प्रमुख प्रशासकीय अधिकृत रविन कार्की, विभिन्न वडाका वडा अध्यक्षहरू, जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो । परिवार र समाज निर्माणमा जीवनको महत्वपूर्ण समय खर्चिएका ज्येष्ठ नागरिकहरू समाजका अनुभवी र अग्रज पुस्ता हुन्।

उनीहरूको ज्ञान, सीप, अनुभव र योगदानलाई सम्मान गर्दै सामाजिक सहभागिता तथा आत्मसम्मान अभिवृद्धि गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो । जीवनको उत्तरार्धमा आइपुग्दा पुराना साथीभाइसँग भेटघाट गर्न पाउनु, आफ्ना मनका कुरा सुनाउन पाउनु र समाजले आफूहरूलाई सम्झिएको अनुभूति गर्न पाउनु नै ज्येष्ठ नागरिकका लागि विशेष खुसीको विषय बनेको थियो ।