इटहरी । संखुवासभाको मादी नगरपालिका–२ मंगलबारेमा पहिलो ‘रानी मेला २०८३’ खुला नकआउट पुरुष फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित लालिगुराँस युवा क्लब मंगलबारेको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो । आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले मंसिर १० गतेसम्म टिम दर्ता गराउन सक्नेछन् । मंसिर ११ गते खेल तालिका सार्वजनिक गरिनेछ भने प्रतियोगिता मंसिर १२ गते बिहान १० बजेदेखि मादी नगरपालिका–२ स्थित मंगलबारे खेलमैदानमा सुरु हुनेछ ।

प्रतियोगितामा प्रत्येक टोलीबाट ७ जना खेलाडी र थप ३ जना खेलाडी सहभागी हुन पाउने व्यवस्था गरिएको छ । टिम व्यवस्थापक सहित प्रत्येक टोलीमा ११ जना रहनेछन् । सहभागी खेलाडीका लागि जर्सी र फुटबल बुट अनिवार्य गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ३० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीलाई समयमै नाम दर्ता गराउन खेल संयोजक सुजन कार्कीले आग्रह गर्नुृभएको छ । स्थानीयस्तरमा खेलकुदको विकास, खेलाडीको प्रतिभा पहिचान तथा युवालाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष उद्धप कार्कीले जानकारी दिनुभएको छ ।