इटहरी । नेपाल दशनामी समाजले दशनामी सन्यासी समुदायका ऐतिहासिक १० थरहरू—गिरी, पुरी, भारती, वन, अरण्य, पर्वत, सागर, तीर्थ, आश्रम र सरस्वती—लाई दलित समुदायको थर सूचीकरणमा समावेश नगर्न राष्ट्रिय दलित आयोग सँग माग गरेको छ ।

आयोगमा बुझाएको पत्रमा समाजले आफ्नो छुट्टै धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचान रहेको स्पष्ट पारेको छ । दशनामी सन्यासीहरू आदि जगद्गुरु शंकराचार्य द्वारा स्थापित मठ र संन्यास परम्पराबाट उत्पन्न भएको भन्दै, समाजले अरू समुदायसँग थर मिल्दैमा दलित सूचीमा राख्नु समुदायको अस्तित्व र संवैधानिक अधिकार माथिको प्रहार हुने तर्क गरेको छ ।

साथै, राष्ट्रिय समावेशी आयोगले यसअघि नै दशनामी समुदायलाई खस–आर्य वर्गमा सूचीकृत गर्न सिफारिस गरिसकेको स्मरण गराउँदै, समाजले आफ्नो माग तत्काल सम्बोधन नभए कडा कदम चाल्ने चेतावनी दिएको छ ।