इटहरी । लैङ्गिक हिंसा अन्त्य तथा समानता र सम्मानको सन्देश प्रवाह गर्ने उद्देश्यले महिला सञ्जाल इटहरीले लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानअन्तर्गत इटहरी पदयात्रा आयोजना गर्ने भएको छ। ‘भेदभाव होइन समानता, हिंसा होइन सम्मान’ भन्ने नारासहित मंसिर १८ गते बिहान ६ः३० बजे पदयात्रा आयोजना गर्न लागिएको महिला सञ्जाल इटहरीकी अध्यक्ष लक्ष्मी गौतमले बताउनुभयो।

उहाँका अनुसार भेटघाट चोकबाट सुरु हुने पदयात्रा तालतलैयासम्म पुग्नेछ। लैङ्गिक हिंसा, विभेद र असमानताविरुद्ध सामूहिक आवाज उठाउँदै महिला अधिकार, समानता, सम्मान र सुरक्षित समाज निर्माणका लागि जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। पदयात्रामा जनप्रतिनिधि, सामाजिक संघसंस्था, युवा, महिला तथा सम्पूर्ण नगरवासीलाई सहभागी हुन अध्यक्ष गौतमले आग्रह गर्नुभएको छ। महिला सञ्जाल इटहरीले आयोजना गर्न लागेको उक्त पदयात्रामार्फत लैङ्गिक हिंसाविरुद्ध सामाजिक एकता र ऐक्यबद्धताको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।