इटहरी । उद्गम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५ औँ वार्षिक साधारणसभामा संस्थाको आर्थिक अवस्था, पूँजी तथा दायित्व विवरण र आगामी आर्थिक वर्षका लक्ष्य सार्वजनिक गरेको छ । 

साधारणसभामा प्रस्तुत आर्थिक विवरण अनुसार संस्थाको शेयर पूँजी १ करोड ५१ लाख ४ हजार ४ सय रुपैयाँ, निक्षेप संकलन ८ करोड ६४ लाख ८२ हजार १ सय ४० रुपैयाँ तथा ऋण लगानी ५ करोड २४ लाख १० हजार ४ सय ६६ रुपैयाँ रहेको छ । संस्थाले शेयर पूँजी, कोष, बचत निक्षेप, बाह्य ऋण, भुक्तानी दिनुपर्ने रकम तथा अन्य दायित्व सम्बन्धी विवरण सार्वजनिक गर्दै आगामी आर्थिक वर्षका लागि वित्तीय लक्ष्य समेत निर्धारण गरेको छ ।

2 1

बचत निक्षेप परिचालन, ऋण व्यवस्थापन, दायित्व व्यवस्थापन तथा संस्थागत वित्तीय अवस्थालाई थप सुदृढ बनाउने लक्ष्य राखिएको छ। साधारणसभामा संस्थाका अध्यक्ष भूपाल थापाले सहकारीको दिगो विकासका लागि वित्तीय अनुशासन, पारदर्शिता, सदस्यको विश्वास र प्रभावकारी व्यवस्थापन अपरिहार्य रहेको बताउनुभएको छ। उहाँले सहकारी संस्थालाई सदस्य केन्द्रित, पारदर्शी र उत्तरदायी बनाउँदै बचतकर्ताको विश्वास कायम राख्ने तथा संस्थाको आर्थिक अवस्थालाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

संस्थाका कोषाध्यक्ष बद्रीकुमार प्रधानले कोषाध्यक्षको आय–व्यय विवरण सहितको वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमा संस्थाको आर्थिक अवस्था, वित्तीय विवरण तथा आगामी आर्थिक वर्षका लागि तय गरिएका लक्ष्य र योजनाबारे जानकारी गराइएको थियो। सहकारीले यस वर्ष पनि विगतका वर्षहरूमा जस्तै ज्येष्ठ नागरिक सम्मान, उत्कृष्ट ऋणी सम्मान, उत्कृष्ट बचतकर्ता सम्मान, बाल बचत सम्मान, उत्कृष्ट उपसमिति सम्मान तथा उद्गम विशेष सम्मान लगायत विभिन्न विधामा सदस्यहरूलाई सम्मान गरेको छ।

सदस्यहरूको योगदान, सहकारी प्रतिको सक्रियता, बचत तथा ऋण कारोबारमा अनुशासन र संस्थागत गतिविधिमा सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको हो। संस्थाले आगामी दिनमा सदस्य शिक्षा, वित्तीय साक्षरता, नियमित ऋण असुली, बचत परिचालन र संस्थागत सुशासनलाई प्राथमिकता दिँदै सहकारीको दिगो विकासका लागि काम गर्ने जनाएको छ।

3 1

१५औँ वार्षिक साधारणसभामा आर्थिक प्रतिवेदन, आगामी नीति तथा कार्यक्रम र संस्थाको वित्तीय अवस्थामाथि छलफल गर्दै संस्थालाई व्यवस्थित र सदस्यको हितमा केन्द्रित बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ । कार्यक्रम संस्थाका सचिव माधव सापकोटाले सञ्चालन गर्नुभएको थियो भने सहभागीहरूलाई संस्थाका उपाध्यक्ष महेन्द्र गुरागाईंले स्वागत गर्नुभएको थियो।