इटहरी । मुन्धुमविद् तथा किराँत सत्यहाङमा धर्मका संरक्षक गुरु लाफ यङ (श्री देवबहादुर तुम्बापो) को ८३ औँ जन्मजयन्तीको पावन अवसरमा इलामको चुलाचुलीमा विविध धार्मिक, सांस्कृतिक तथा शैक्षिक कार्यक्रम सम्पन्न भएका छन् । 

जन्मोत्सव मनाउनुका साथै ‘मुन्धुम पाठशाला’ को उद्घाटन, ‘सानो गुरु बद्रीनन्द’ को सालिक अनावरण तथा विश्व शान्तिको कामना सहित ‘माङ्गेना चोत्लुङ’ अनुष्ठान गरिएको हो । फाल्गुनन्द नोमाङ्गेना सेवा संघ, माङ्गेना माङ्हिम तथा बहुभाषिक पाठशालाका संस्थापक अध्यक्ष डम्बरकुमार तुम्बापोको सभापतित्वमा सम्पन्न समारोहमा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेप प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ, उपाध्यक्ष दिलकुमारी लाओती योङहाङ, किराँत सत्यहाङमा सेवा संघका केन्द्रीय अध्यक्ष, मूर्तिकार तथा साहित्यकार ज्ञानोदय लाओती, त्रिभुवन विश्वविद्यालयका एसोसिएट प्रोफेसर तथा नवोदय उच्च मावि एवं युएन कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक ज्ञानेश्वर झा, किराँत सत्यहाङमा सेवा सावा पाङ्जुमोका केन्द्रीय अध्यक्ष मणिकुमार इदिङ्गो, प्रहरी चौकी पेल्टि मारीका प्रमुख जीवनकुमार कार्की, वडाध्यक्षहरू तथा अग्रज सेवा सावा धनकुमार थाम्सुहाङ लगायतको उपस्थिति रहेको थियो ।

समारोहमा प्रमुख अतिथि मन्त्री लिङ्थेपले धार्मिक, सांस्कृतिक र शैक्षिक अभियानको संरक्षणमा प्रदेश तथा स्थानीय सरकारको सहयोग अपरिहार्य रहेको बताउँदै निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सभाध्यक्ष डम्बरकुमार तुम्बापोले नवउद्घाटित मुन्धुम पाठशाला र बहुभाषिक पाठशालाको दीर्घकालीन सञ्चालन तथा व्यवस्थापनमा स्थानीय सरकारको अभिभावकीय भूमिका हुनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा जग्गादातालाई दोसल्ला ओढाएर सम्मान र आर्थिक सहयोगी दातालाई कदरपत्र प्रदान गरिएको थियो भने फक्ताङलुङ यात्रा समितिका कोषाध्यक्ष टेकराज निङ्लेखु र सचिव सङ्गीता थलङले आर्थिक प्रतिवेदन सार्वजनिक गर्नुभयो ।

“बुद्ध नेपालमा जन्मिएका हुन्” अभियानका अभियन्ता गायक धिरज राईलाई सम्मान गरिएको समारोहमा राई र गायक विकास तुम्बापोले सांगीतिक प्रस्तुति दिनुभयो । जन्मोत्सवको सम्मानमा चुलाचुली गाउँपालिकाले पालिकाभर स्थानीय बिदासमेत दिएको थियो ।